राजनीति

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज, ६० जिल्लाका १४८ क्षेत्रमा अधिवेशन हुँदै


काठमाडौँ – प्रमुख सत्तारुढ दल कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुने छ ।

क्रियाशील सदस्यता विवादले वडा अधिवेशन नभएका जिल्लामा भने प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन हुने छैन । क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । क्षेत्रीय अधिवेशनले जिल्ला अधिवेशन र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको पनि निर्वाचन गर्ने छ । कांग्रेस विधानअनुसार क्षेत्रीय अधिवेशनबाट निर्वाचित नेता तथा कार्यकर्तामात्रै जिल्ला समितिको पदाधिकारीमा चुनाव लड्न पाउँछन् ।

यसअघि १४ वटा हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका रहेको छ ।