राजनीति

नेता बन्न काँग्रेसमा भूपू प्रहरीको लर्काे

राजनीतिमा आईजीपीदेखि असईसम्म


काठमाडौँ–प्रहरी सेवामा लामो समय विताएर अवकाश पाइसकेका उपल्लो तहका प्रहरी अधिकारीहरु राजनीतिमा आकर्षित भएका छन् ।

नेपाली काँग्रेसको जारी महाधिवेशनबाट राजनीतिमा लागेका प्रहरीका पूर्व वरिष्ठ अधिकृतहरु बेग्रल्ती भेटिएका छन् । प्रहरीमा जीवन विताएका दर्जनौँ वरिष्ठ अधिकृतहरु जागिरबाट अवकाश पाए पछि राजनीतिमा आकर्षित भएका हुन् ।

प्रहरी असईदेखि आइजीपीसम्म भइसकेकाहरु राजनीतिमा देखिएका हुन् । अहिले नेपाली काँग्रेस र एमालेको महाधिवेशनको माहोल छ । यही समयबाट राजनीतिमा सक्रीय बन्नेहरुको लामो लिस्ट छ । डीआईजीबाट रिटायर्ड भएका थुप्रै पूर्व प्रहरीहरु काँग्रेसको महाधिवेशनबाट राजनीतिमा लागेका छन् । संगठनमा रहँदा स्वच्छ छवी बनाएका पूर्वडीआइजी गणेश केसी अहिले ललितपुर जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधिको उमेदवार बनेका छन् ।

राजनीतिमा लाग्नु रहर नभई सु–संस्कृत समाज निर्माणमा क्रियाशिल हुनु रहेको उनको बुझाई छ । ‘३० वर्ष मैले प्रहरी सेवामा रहेर जनताको सेवा गरेँ, ५३ वर्षमै रिटायर्ड भएँ, म अझै केही गर्न सक्छु भन्ने आँट छ, त्यसैले यो अमूल्य समय किन खेर फालौँ भनेर राजनीतिमा आएकाु हुँ ।’ पूर्व डीआईजी केसी भन्छन्, ‘जुन क्षेत्रमा रहेर पनि आखिर जनताकै सेवा गर्ने त हो ।’

अर्का पूर्व डीआइजी दिनेश अमात्य धनकुटाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधिका लागि अघि बढेका छन् । अर्काे पूर्व डीआईजी प्रेम जोशीले दार्चुलाबाट काँग्रेसको क्रियाशिल सदस्यता यसै वर्ष लिएका छन् । मोरङमा पूर्व डीआईजी भक्तिनाथ माझीले काँग्रेसको उपसभापतिको कार्यकाल पुरा गरेर यस महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिको तयारी गरिरहेका छन् । अन्य थुप्रै अवकाशप्राप्त एसएसपी एसपी र डीयसपीहरु १४औँ महाधिवेशनबाट सक्रिय बनेर राजनीतिमा लागि परेका छन् ।

मोरङ जिल्लामै पूर्व एसपी विद्यानन्द माझी काँग्रेसमा यस पटकदेखि आबद्ध भएका छन् । पूर्व डीयसपी वद्रिविक्रम थापा पनि मोरङबाटै यस पटक महाधिवेशन प्रतिनिधिको तयारीमा लागे । यद्यपी उनले उमेदवारीलाई जितमा बदल्न सकेनन् । अनुभव सुनाउँदै उनले भने, ‘हामी फौजी शैलीको मान्छे भएर होला सिधा रेखामा हेर्दाेरहेछौँ, राजनीतिको बाटो भिन्न हुँदोरहेछ, प्राविधिक पक्ष मिलाउन अलि नजान्दा नतिजा विग्रियो ।’ थापाले भने, ‘एक पटक पराजय बेहोर्दैमा आत्तिन हुन्न राजनीतिमा मात्रै होइन हरेक क्षेत्रमा निरनतर संघर्ष जरुरी छ ।’

यता एमालेमा पनि १० औँ महाधिवेशनको चटारो छ । तर एमालेका नेताहरुसंग कुरा गर्दा काँग्रेसमा जस्तो पूर्व प्रहरीहरुको आकर्षण देखिएन । साना पदबाट रिटायर्ड भएकाहरु भने एमालेमा पनि प्रशस्तै छन् । यद्यपी पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने चर्चा चुलिए पनि उनले औपचारिक रुपमा एमालेको सदस्यता भने लिएका छैनन् । तर उनी एमालेसंग निकट छन् भन्ने उनको गतिविधिहरुबाट प्रष्ट हुन्छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेमा उच्च ओहोदामा पुगेर अवकाश लिएका प्रहरी अधिकारीहरु सक्रइि राजनीतिमा लागेको आफूलाई थाहा नभएको बताए । उनले भने ‘परिस्थितिबस पूर्व डीआईजी नवराज सिलवाल त हाम्रो पार्टीको नेता नै हुनुभयो । टिकट पाएर चुनावै जित्नुभयो अरु त मलाई जानकारीमा छैन ।’ पूर्व प्रहरीमध्य एकै पटक राजनीतिमा स्थापित भएका व्यक्ति भने नवराव सिलवाल नै हुन् ।

आईजीपी बन्न नपाएको झोकमा एमाले अध्यक्ष ओलीको पाखुरा समाएका पूर्व डिआइजी सिलवालले असाधारण रुपमा एमालेमा ‘स्पेस’ पाए । र उनी अहिले प्रतिनिधिसभामा ललितपुरबाट निर्वाचित सांसद छन् । यस्ता अरु थुप्रै पूर्व प्रहरीहरु छन् जो राजनीतिमा होमिएका छन् ।

राजनीतिमा लागेर उच्च उहोदामा पुगेका प्रहरी अधिकृतहरु अरु पनि छन् । पूर्व आईजीपी खड्गजीत बराल पञ्चायत कालमा सांसद बने । अर्का पूर्व प्रहरी प्रमुख डी.बी. लामा रसुवाबाट चुनाव लडेर वि.स. २०५३ मा सांसद हुँदै मन्त्री समेत बने ।

अवकाशप्राप्त जीवनमा आराम नगरि राजनीतिमा पूर्व प्रहरीहरु आकर्षित छन् । कुनै विषयमा अनुभवबाट विषेशज्ञता हासिल गरेका व्यक्तिहरु राजनीतिमा आउनु राम्रो पक्ष हो । बौद्धिक, सक्षम र निखारिएका व्यक्तिहरु राजनीतिले खोजेको छ ।