राजनीति

नेता बन्न काँग्रेसमा रिटायर्ड प्रहरीको लर्को, किन आउँछन् प्रहरी (भिडियोसहित)


काठमाडौँ — प्रहरी सेवामा लामो समय विताएर अवकाश पाइसकेका उपल्लो तहका प्रहरी अधिकारीहरु राजनीतिमा आकर्षित भएका छन् ।नेपाली काँग्रेसको जारी महाधिवेशनबाट राजनीतिमा लागेका प्रहरीका पूर्व वरिष्ठ अधिकृतहरु बेग्रल्ती भेटिएका छन् ।

प्रहरीमा जीवन विताएका दर्जनौँ वरिष्ठ अधिकृतहरु जागिरबाट अवकाश पाए पछि राजनीतिमा आकर्षित भएका छन् । प्रहरी असईदेखि आइजीपीसम्म भइसकेकाहरु राजनीतिमा देखिएका हुन् । अहिले नेपाली काँग्रेस र एमालेको महाधिवेशनको माहोल छ । यही समयबाट राजनीतिमा सक्रिय बन्नेहरुको लामै लिस्ट छ । डीआइजीबाट रिटायर्डभएका थुप्रै पूर्व प्रहरीहरु काँग्रेसको महाधिवेशनबाट राजनीतिमा लागेका छन् । संगठनमा रहँदा स्वच्छ छवी बनाएका डीआइजी गणेश केसी अहिले ललितपुर जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधिको उमेदवार बनेका छन् । राजनीतिमा लाग्नु रहर नभई सुसस्कृत समाज निर्माणमा क्रियाशिल हुनु रहेको उनको बुझाई छ ।

अर्का पूर्व डीआइजी दिनेश अमात्य धनकुटाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधिका लागि अघि बढेका छन् । अर्काे पूर्व डीआईजी प्रेम जोशीले दार्चुलाबाट काँग्रेसको क्रियाशिल सदस्यता यसै वर्ष लिएका छन् । मोरङमा पूर्व डीआईजी भक्तिनाथ माझीले काँग्रेसको उपसभापतिको कार्यकाल पुरा गरेर यस महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिको तयारी गरिरहेका छन् । अन्य थुप्रै रिटायर्ड एसएसपी एसपी र डियसपीहरु १४ औँ महाधिवेशनबाट सक्रिय बनेर लागि परेका छन् । मोरङ जिल्लामै पूर्व एसपी विद्यानाथ माझी काँग्रेसमा यस पटकदेखि आबद्ध भएका छन् । पूर्व डियसपी बद्रिविक्रम थापा पनि मोरङबाटै यस पटक महाधिवेशन प्रतिनिधिको तयारीमा लागे ।

यता एमालेमा पनि १० औँ महाधिवेशनको चटारो छ । तर एमालेका नेताहरुसंग कुरा गर्दाकाँग्रेसमा जस्तो पूर्व प्रहरीहरुको आकर्षण देखिएन । साना पदबाट रिटायर्ड भएकाहरु भने एमालेमा पनि प्रशस्तै छन् । यद्यपी पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने चर्चा चुलिए पनि उनले औपचारिक रुपमा एमालेको सदस्यता भने लिएका छैनन् । तर उनी एमालेसंग निकट छन् भन्ने उनको गतिविधिहरुबाट प्रष्ट हुन्छ ।

राजनीतिमा लालगर उच्च उहोदामा पुगेका प्रहरी अधिकृतहरु पनि छन् । पूर्व आइजीपी खड्गजीत बराल पुञ्चायत कालमा सांसद बने । अर्का पूर्व प्रहरी प्रमुख डीबी लामा रसुवाबाट चुनाव लडेरसांसद हुँदै मन्त्री बने । पूर्व प्रहरी एकै पटक राजनीतिमा स्थापीत भएका व्यक्ति भने नवराव सिलवाल हुन् । आइजीपी बन्न नपाएको झोकमा एमाले अध्यक्ष ओलीको पाखुरा समाएका पूर्व डिआइजी सिलवाललेअसाधारण रुपमा एमालेमा स्पेस पाए । र उनी अहिले प्रतिनिधिसभामा ललितपुरबाट निर्वाचित सांसद छन् । यस्ता अरु थुप्रै पूर्व प्रहरीहरु छन् जो राजनीतिमा होमिएका छन् ।

अवकाशप्राप्त जीवनमा आराम नगरि राजनीतिमा पूर्व प्रहरीहरु आकर्षित छन् । कुनै विषयमा अनुभवबाट विषेशज्ञता हासिल गरेका व्यक्तिहरु राजनीतिमा आउनु राम्रो पक्ष हो । बौद्धिक, सक्षम र निखारिएका व्यक्तिहरु राजनीतिले खोजेको छ ।