समाचार

विश्व टेलिभिजन दिवस, यस्तो छ टेलिभिजनको इतिहास (भिडियोसहित)


विश्व टेलिभिजन दिवस, यस्तो छ टेलिभिजनको इतिहास भिडियोसहित
नेपालमा कहिलेबाट सुरु भयो टेलिभिजनको ?
काठमाडौँ — आइतबार विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ, टेलिभिजन । सन् १९३६ मा पहिलोपटक बेलायतबाट टेलिभिजन प्रशारण भएको थियोे । यसको जिम्मा बेलायत सरकारले विविसीलाई दियो । त्यसपछि सन् १९३९ मा अमेरिकाबाट टेलिभिजनको नियमित प्रशारण सुरु भयो । तर यसअघि नै अमेरिकामा थुप्रै टेलिभिजन च्यानलले परीक्षण प्रशारण तथा भिडियो प्रशारण गरिसकेका थिए ।

नेपालमा भने सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ । २०४१ माघ १७ गते नेपालमै पहिलो नेपाल टेलिभिजनको सुरुवात भएको थियो । करिब सत्र वर्षसम सरकारी टिभीको एकाधिकार रह्यो । निजी क्षेत्रबाट टेलिभिजन प्रशारण २०५८ मा सुरु भएको थियो । नेपालमा अहिले ७० भन्दा बढि टेलिभिजन च्यानलहरू नियमित प्रसारणमा छन् भने हालसम्म १ सय बढि टेलिभिजनले प्रशारणका लागि अनुमति प्राप्त गरेका छन् । विश्व टेलिभिजन दिवस मनाईरहँदा सूचना र प्रविधिले मारेको फड्कोसँगै प्रभावशाली सञ्चारमाध्यमका रुपमा निरन्तरता पाउन टेलिभिजनहरुले पनि आफूलाई परिस्किृत गर्नु जरुरी छ ।

टेलिभिजनकै कारण विश्वका एक कुनामा भएको घटना अर्को कुनामा बस्ने मानिसले हेर्न सक्ने अवस्थाको सिर्जना भएको थियो । भलै अहिले प्रविधिको विकासले सञ्चार माध्यमका दायराहरु फराकिला भएका छन् ।

विश्व टेलिभिजन दिवसको सन्दर्भमा सञ्चारको प्रभावकारी माध्यम हुनुको कारणले पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता कायम गर्न टेलिभिजनको महत्व अझ वढी छ । तर, अधिकांश टेलिभिजनले घर, स्टुडियो सामग्री, क्यामरा र अन्य भौतिक सामग्रीमा पर्याप्त लगानी गरेपनि जनशक्तिको वृत्ति विकासमा ध्यान दिएको पाइदैन । अनुभवको तुलनामा कम पैसामा नयाँ र कमजोर जनशक्तिमा काम चलाउने प्रवृत्ति बढ्दा आचारसंहिता उल्लंघन हुने र पत्रकारिता क्षेत्र नै बदनाम हुने गरेका छन् । अझै पनि विश्वभरका टेलिभिजन च्यानलसँग पहुँच भएका दर्शकको मन जित्न भने पर्याप्त अध्ययन र अनुसन्धान गरेर मात्र स्तरिय सामग्री प्रसारण गर्न आवश्यक छ ।