राजनीति

माओवादीको वडा सम्मेलन : नयाँ नेतृत्व सबै सर्वसम्मत


काठमाडौँ — नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

‘कहीँ कुनै चाडपर्व परेको, कहीँ कसैको मृत्युमा वडा शोकमा रहेको जस्ता कारणले सम्मेलन हुन नसकेको भन्ने आएको छ’ उनले भने ।

पार्टीले आन्तरिक निर्वाचनलाई खुला राखेको भए पनि वडा तहको सम्मेलनमा आन्तरिक निर्वाचन कतै गर्नु नपरेको उनले बताए । ‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन्’ श्रेष्ठले भने ।

सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९र२९ सदस्यीय वडा समिति निर्वाचित भएको मओवादीले जनाएको छ । देशभर ६ हजार ७४३ वटा वडा छन् । प्रत्येक वडामा वडा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको छ ।

अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।