राजनीति

मेरो प्यानल छैन, एक्लै लड्ने हो : भीम रावल


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो । जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।