समाचार

अवैध टिभी च्यानलको पत्रकार महासंघद्वारा विरोध


काठमाडौँ — पतञ्जलि योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्नु गैरकानुनी भएको बताउँदै नेपाल पत्रकार महासंघले विरोध गरेको छ । उक्त टेलिभिजन च्यानलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकोमा महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् । नेपालको कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा यसरी टेलिभिजन खोल्नु कानुनको उल्लंघन भएको बताइएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यम पनि भएको महासंघले उल्लेख गरेको छ ।

दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन कानुनविपरीत भएको बताउँदै महासंघले राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिकाको सन्दर्भ उठान गरेको छ ।

सञ्चारक्षेत्रमा विदेशी लगानीले स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । विदेशी लगानीमा खुलेका सञ्चारमाध्यमले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्न सक्ने चिन्ता गर्दै गम्भीर र संवेदनशील हुनुपर्ने दाबी गरिएको छ ।