समाचार

लागुऔषधसहित पर्साका एक युवक पक्राउ


काठमाडौँ — साढे १३ सय एम्पुल प्रतिबन्धित लागुऔषधसहित पर्सा धोविनीका एक युवक पक्राउ परेका छन् । ना४५प ११६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाइछिपाई सीमा उपारबाट ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने युवक पर्साको धोविनी गाउँपालिका(२ आसवारी बस्ने वर्ष २६ को दिवाकर कुमार साह रहेको पर्साका प्रहरीले जनाएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ स्थित बन्जारी पुलस्थित सडकखण्डमा भारतबाट भिस्वाको बाटो हुँदै एउटा मोटरसाइकल आइरहेको थियो । सो रोकेर चेकजाँच गर्दा मोटरसाइकलका चालक साहले बोकेको सेतो झोलाभित्र लागुऔषध फेला परेको प्रहरी जनाएको छ ।

अभियुक्त साहले प्रतिबन्धित लागुऔषध नुर्फिन ४ सय ५० एम्पुल, डाइजोपाम ४ सय ५० एम्पुल र प्रोमिफाइजाम हाइड्रोकोलोराइड पनि ४ सय ५० एम्पुल नै गरी १ हजार ३ सय ५० एम्पुल ल्याएका रहेछन् ।

सो परिणामको प्रतिबन्धित लागुऔषध फेला परेपछि प्रहरीले अभियुक्त साह र उनको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । साहलाई भने लागुऔषधसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।