राजनीति

सोलुमा सभापतिबाहेकका कांग्रेस पदाधिकारी निर्वाचित, सभापतिमा फेरि मतदान हुने सम्भावना


काठमाडौँ — नेपाली कांग्रेस सोलुखुम्बुको १४औं जिल्ला अधिवेशनअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनबाट सभापतिबाहेक ३६ जिल्ला कार्यसमिति चयन भएका छन् ।

गत बिहीबार सम्पन्न मतदानको गणना शनिबार राति सकिएसँगै जिल्ला सभापतिबोहकका समिति र महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सभापति पदमा ३ जनाको उम्मेद्वारी परेको खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पु¥याउनुपर्ने व्यवस्थाअनुसार नेतृत्व चयन हुन नसकेको बताइएको छ ।

यस्तो अवस्थामा जिल्ला सभापतिका लागि पुनः सहमति या निर्वाचनमा जानुपर्ने बाध्यता रहेको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र राम बहादुर बस्नेतको उम्मेद्वारी परेको थियो ।

९२४ जना क्षेत्रीय प्रतिनिधिमध्ये जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा ८ सय ८२ मत खसेको थियो । मत परिणामअनुसार सभापतिका उम्मेदवार शेर्पाले ४ सय १८ र विनोदकुमार बस्नेतले ४ सय २८ र रामबहादुर बस्नेतले ५ मत प्राप्त गरेका छन् ।

खसेको मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसक्दा कि सहमति नभए पुनः मतदानबाहेक विकल्प नभएकाले पुनः मतदानमा जानुपर्ने निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए ।

जिल्ला कार्यसमितिको उपाअध्यक्षसहितको अधिकांश पदमा भने विनोदकुमार बस्नेत समूहबाट विजयी भएका छन् । उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युबराज घिमिरे, सहसचिवमा ङिमाछिरि शेर्पा र उत्रमान राई विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

जसमध्ये सहसचिव उत्रमान राई शेर्पा समूहका हुन् भने अन्य सबै बस्नेत समूहका हुन् । सभापतिमा सहमति नभएको खण्डमा आज नयाँ मतदानको मिति तोकिने जनाइएको छ ।

यस्तै, निर्वाचन प्रणालिमार्फत २५ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन्। जसमा संस्थापनइतर पक्षका २१ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा प्रकाशसिङ कार्की, आङ छिरिङ शेर्पा, आङगेलु शेर्पा, खिलराज बस्नेत, कुशराज राई, भोजराज कार्की, मंगलसिङ तामाङ, नातिकाजी गुरुङ र मनोज खड्काले ३८८ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रत्यक्ष महिलातर्फ एका कुमारी बस्नेत, गीता गुरुङ, छिण्डील्हमू शेर्पा र रिना उप्रेती निर्वाचित भएकी छन् भने खस आर्यतर्फ प्रभुराम बस्नेत, आदिवासी जनजाती प्रतिनिधि खुलातर्फ आङकाजी शेर्पा, जीवन गुरुङ, ढल बहादुर मगर र महेन्द्र दीप राई निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलातर्फ गान्धीमाया तामाङ, फुर्किमा शेर्पा र बिमला गुरुङ निर्वाचित भएका छन्। दलित प्रतिनिधिमा धर्मबहादुर दर्जी, मधेसी, थारू, अल्पसंख्यक तर्फ अशोककुमार झा, अल्पसंख्यक वा अपांग तर्फ लोकेन्द्र बहादुर बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।