राजनीति

ग्यासमा १२ दिनमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भयो : अध्यक्ष नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताउनु भएको छ । आईतवार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै उहाँले ग्यासमा १२ दिनको अन्तरालमा १२५ ले बढ्नु जनतामाथि अत्याचार गर्नु भएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘ग्यासमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको छ । म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनेछु ।’ उहाँले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताउनु भएको हो । बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताउदै सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने पनि बताउनु भएको छ । उहाँले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताउनु भयो । उहाँले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताउनु भयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताउनु भयो ।

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पु¥याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनु पर्ने बताउनु भयो । उहाँले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनग, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताउनु भयो । अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।