समाचार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने


काठमाडौँ – १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप दिइने भएको छ । यसअघि यो खोप १२ वर्ष माथिका दीर्घरोगीलाई मात्रै दिइएको थियो ।

स्वास्थ्य सेवा विभागका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि खोप दिने व्यवस्था मिलाइएको छ । तीन दिनसम्म खोप दिने तय गरिएको छ । तर, खोपको मौज्दात कम रहेको अधिकारीहरूले बताएका छन् ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुससम्मका लागि तय गरिएको छ ।