राजनीति

कानुन व्यवसायीले आज देशभर पैरवी बहस नगर्ने


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीले आज देशभर बहस पैरवी नगर्ने भएका छन् । सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन् ।

नेपाल बार एशोसिएशनले आजदेखि तेस्रो चरणको आन्दोलन थालेको छ । भोलि देशभरिका अदालतमा १० बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । बारले गत कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।