राजनीति

रिसले आगो भएका प्रकाशमानलाई शशांकले भने, ‘सरी प्रकाशमान जी !’ कोइराला परिवार सिंह फकाउँदै (भिडियोसहित)


काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा सभापतिका दुई दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच केही सातायता आरोप प्रत्यारोप नै चलेको छ । यद्यपी दुबै जना आत्मालोचित भएर अघि बढ्ने समझदारीको तहमा पुगेका छन् ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौं बाहिरका नेता कार्यकर्ताले चिन्दैन भनेर सभापतिको दाबी त्याग्न अनुरोध गरेका महामन्त्री शशांक कोइराला शनिबार सिंह निवास चाक्सीबारी पुगे ।सिंहलाई भेट्न निवासमै पुगेका कोइरालाले सरी प्रकाशमान जी ! भनेपछि अब संयमित भएर अघि बढ्ने समझदारी भयो । हुन त, कोइरालाको अभिव्यक्तिपछि झनै आक्रोशित बनेर सिंहले समेत पदमा बसेर पनि काम गर्न नसक्ने भन्दै कोइरालामाथि आपेक्ष लगाएका थिए । एकअर्काविरुद्ध चोट नै पुग्ने गरि घोचपेचमै उत्रिएका उनीहरु शनिबार भेटघाट गर्ने तहमा पुगेका हुन् ।संस्थापनइतर पक्षमा केहीदिन यता अन्तरद्वन्द्व चर्किएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेताहरूप्रति सिंह तिखो बोली प्रहार गर्दै समीकरणबाट अलग्गीएका छन् ।

सिंह एक्लै सभापतिको तयारीमा अघि बढेपछि शेरबहादुर देउवालाई पराजित गर्न सबै मिलेर जानै पर्ने बाध्यतामा रहेका नेताहरु उनलाई फकाउने प्रयास गरिरहेका छन् । तर सिंह पछि हट्ने पक्षमा छैनन्, उनले संस्थापक नेताको सपना आफुले मात्रै पुरा गर्न सक्ने भन्दै सभापतिमा भिड्ने दाबी गरेका छन् ।

यसअघि बिहीबार वरिष्ठ नेता पौडेलले सिंहसंग भेटघाट गरेका थिए । शुक्रबार केन्द्रीय सदस्य शेखर कोइराला पनि सिंहसँग भेटवार्ता गर्न चाक्सीबारी पुगेका छन् ।भेटमा दुबैबीच पावर सियरिङका विषयमा छलफल भएको थियो । शेखरले आफु सभापति र सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर सिंहले कोइरालामध्येबाट प्रधानमन्त्री बन्नुपर्ने र आफु सभापति हुनुपर्ने अडान लिए ।

समुहभित्रै कुरा नमिलेका बेला महामन्त्री कोइराला सभापति देउवासंगको संवादमा अघि बढेका छन् । यसअघि दाजु शेखरसंग सभापतिको दाबी छोड्ने सहमति गरेर वालुवाटार छिरेपछि भंग गरेका उनी शनिबार पनि सिंहसंगको भेटपछि देउवालाई भेट्न वालुवाटार छिरेका थिए ।यता पौडेल समुहभित्रै सभापतिका दाबेदारहरु चाँडै सहमति गर्नुपर्ने दबावमा छन् । तर एकले अर्काको अस्तित्व नै स्वीकार्न नसक्ने अवस्थाले सहमतिको विथोलिएको छ ।