समाचार

११ वर्षयता १५० भन्दा बढी भुस्याहा कुकुर पालिरहेका छन् यी विदेशी दम्पति (भिडियोसहित)


काठमाडौँ — पछिल्लो समय नेपालमा शोख र सुरक्षा दुवैका लागि कुकुर पाल्ने चलन नै बसेको छ ।सडकमा यत्रतत्र रहेका भुस्या कुकुर भने कमैलाई मन पर्छ । तर न्यूजिल्याण्डका क्लिनटन दम्पत्तिले विगत ११ वर्षदेखि सडकका भुस्या कुकुरको उपचार र हेरचाह गर्दै आएका छन । उनीहरुको यो पुन्य काम छरछिमेकीका लागि भने टाउको दुखाइको बनेको छ ।

यो हो कपन पैयाटारमा रहेको कम्युनिटी डग वेलफेयर सेन्टर । जहाँ विगत एक दशकदेखि सडकमा यत्रतत्र छरिएर रहेका कुकुरहरु संकलन गरी उपचार हेरचाह हुँदै आएको छ । यहाँ हाल १ सय ६० बढी भुस्या कुकुरहरु छन । विगत २५ वर्षदेखि नेपालमै बस्दै आएका न्यूजिल्यान्डका डग क्लिनटन र उनकी पत्नी केट क्लिनटनले जग्गा भाडामा लिएर छाडा कुकुरहरुको उपचार हेरचाह मात्र होइन विभिन्न मुलुकमा पठाउने समेत गरेका छन । उनीहरुले हालसम्म ३० भन्दा बढी कुकुर विभिन्न मुलुक पठाई सकेका छन ।


सडकमा छरिएर रहेका कुकुरहरुको संकलन, हेरचाह उपचार आफैमा सजिलो छैन । उमेरले डाँडा पारीमा रहेका क्लिनटन दम्पत्ति भुस्या कुकुरहरुको हेरचाहमा खुशी छन । उनीहरुको यो कार्य आफैमा प्रशंसा योग्य पनि छ । तर उनीहरुको यहि काम छरछिमेकलाई भने यातना सरह बनेको छ । मानव वस्तीको बीचमा यति धेरै कुकुरहरु हुँदा निरन्तरको भुकाई र दुर्गन्धका कारण यस क्षेत्रका स्थानीयको दैनिकी भने कष्टकरपूर्ण बनेको छ ।

स्थानीयबासी कुकुरहरुको बासस्थान सार्न माग गर्दै नगरपालिका, वडा कार्यलयमा पटक पटक धाउने गरेका छन् । तर स्थानीय सरकारले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए पनि त्यो कामले पूर्णता पाएको छैन । अब पनि सुनुवाई नभए जवरजस्ती हटाउन बाध्य हुने उनीहरु बताउँछन । छिटो भन्दा छिटो स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने उनीहरुको माग छ ।

यता जग्गाधनी र क्लिनटन दम्पत्ति कुकुरलाई अन्यत्र सार्न स्थानीय सरकारसँग समन्वय गरी रहेको बताउँछन । जग्गा नपाएका कारण चाहेर पनि तत्काल यी कुकुरहरुलाई सार्न नसकेको उनीहरुको तर्क छ ।

केहि वर्ष अघिसम्म सुनसान यो क्षेत्र अहिले घना वस्तीमा परिणत भएको छ । स्थानीयले क्लिनटन दम्पत्तिको कामको सम्मान गरेकै कारण लामो समयदेखि कुकुरको कोलाहल र दुर्गन्ध सहेर बसेका छन् । यद्यपि पछिल्लो समय कुकुरको संख्या थप हुँदै जाँदा झन कोलाहल बढेको र दैनिकी नै कष्टकर भएकाले तत्काल कुकुरहरुलाई अन्यत्र सार्न आग्रह गर्दै आएका छन ।