राजनीति

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता, देखियो एकता हुने सम्भावना


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

स्रोतको खबर अनुसार उहाँहरूबीच तत्काल सहकार्य गरेर जाने र पछि पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी भएको छ ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।