राजनीति

मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले गरेको अर्थमन्त्री शर्माको दावी


काठमाडौँ – अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गर्नु भएको छ । उहाँले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताउनु भएको हो ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेञ्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताउनु भयो । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताउनु भयो ।