खेलकुद

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान


काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त हुँदै आएको सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको छ । शनिबार मन्त्रालयले सूचना प्रकाशित गर्दै पदका लागि दरखास्त दिन आह्वान गरेको हो ।

मन्त्रालयले पहिलो सूचना प्रकाशित भएको दश दिन भित्र आवेदन दिइसक्नु पर्ने समयसीमा तोकेको छ । मन्त्रालयमा सचिव नहुँदा सदस्यसचिव नियुक्ती प्रक्रिया अघि बढ्न सकेको थिएन । त्यसैका लागि भन्दै मन्त्रालयले सहसचिव विष्णुराज ढकाललाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिएर राखेप पठाएको थियो ।

सदस्य सचिव नियुक्ति गर्नका लागि मन्त्रालयले कात्तिक १७ गते निमित्त सचिव डा.कमलप्रसाद पोखरेलको संयोजकत्वमा डा.कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सदस्य रहनेगरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अघिल्लो सरकारको पालामा नियुक्त रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपमा सदस्यसचिवको पद रिक्त छ ।

नयाँ खेलकुद ऐनअनुसार सदस्यसचिव नियुक्त गर्न युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एक महिलासहित दुईजना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । उक्त समितिले योग्यता पुगेको एक महिलासहित तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्छ । सिफारिस भएका व्यक्तिमध्येबाट एक उपयुक्त व्यक्तिलाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्ने प्रावधान छ ।

No description available.