राजनीति

देउवा पक्षद्वारा पौडेल पक्षका नेतामाथि आक्रमण


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका दुई पक्षबीच कुटपिट भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई आक्रमण गरी घाइते बनाएका छन् । आज राति बिहान दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन्

भैरहवामा राति दुई बजे प्रदेश सभा ३ (१) को मतगणना भैरहेको समयमा उनीमाथि आक्रमण भएको थियो । तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले उनी माथि आक्रमण गरको सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मतगणनामा हार्ने निश्चित भएपछि उनीहरू आक्रमणमा उत्रिएका हुन् ।

आक्रमणबाट घाइते भएको पन्तको नाकको हड्डी फ्याक्चर भएको छ । अहिले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कांग्रेस नेता मातृका यादवले जानकारी दिएका छन् । घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले बताए ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना जारी छ । आक्रमण भएपछि भने मतगणना स्थगित गरिएको छ ।