राजनीति

एमालेमा पूर्व माओवादीको विचल्ली हुने डर, ओलीले देलान् त बादललाई उपाध्यक्ष ? (भिडियोसहित)


काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प अध्यक्ष र सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने तयारीमा रहेका बेला नेताहरुको आकंक्षा चुलिएको छ । सबैलाई मिलाएर नेतृत्व चुन्नुपर्ने बाध्यता पनि ओली सामू छ । तर पार्टीभित्र अस्तित्वमा रहेको तीन समुह मध्ये पूर्वमाओवादीको स्थान के हुन्छ भन्ने चासो राजनीतिक वृत्तमा छ ।

आगामी महाधिवेशनमार्फत नेतृत्व चयनमा अघि बढेको एमालेमा हाल तीन मनोविज्ञान हाबी छन् । पहिलो, एमालेभित्रको रैथाने संस्थापन पक्ष । जसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । दोस्रो, पार्टीभित्र रैथाने भएर पनि सधैं असन्तुष्टिकै चाङमा उभिएको १० बुँदे सहमति कार्यान्वयनको पक्षधर समुह ।

जसमा माधव नेपालबाट अलग्गीएर एमालेमै रोकिएका भीम रावलसहितका नेताहरु छन् । र तेस्रो पक्ष, पूर्वमाओवादी नेताहरु । नेकपा विभाजनपछि प्रचण्डलाई छोडी ओलीतिरै गाभिएको उनीहरु माओवादी र एमाले एकिकरणपछि बनेको नेकपाकै स्वरुप एमाले भएको भन्दै चित्त बुझाइरहेका छन् । आगामी महाधिवेशनमा उनीहरुले कुन स्थान पाउँछन् चासोका साथ हेरिएको छ ।

पार्टीभित्रको असन्तुष्ट पक्षको उपेक्षा गरेरै भएपनि पूर्वमाओवादीलाई अघि बढाउन ओली इच्छुक देखिन्छ । तर १० औं महाधिवेशनमा ओलीले उनीहरुलाई कुन स्थानमा राख्छन् सुरक्षित छैन ।पूर्वमाओवादी समुह भने अध्यक्ष ओलीसंगकै सहकार्यमा धेरैभन्दा धेरै पद प्राप्तीको लाइनमा छन् । यद्यपी महाधिवेशन प्रतिनिधि छनौटमा ओलीको आशातित साथ नपाएपछि उनीहरु झस्किएका छन् ।

पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ । रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा, टोपबहादुर रायमाझीले उपाध्यक्ष, मणि थापा र लेखराज भट्टले सचिवमा दाबी गरेका छन् । ओली सम्मानजनक तरिकाले अघि बढे प्रभु शाहले स्थायी समिति सदस्यमा नभए पदाधिकारीमै भिड्ने घुर्कि लगाइरहेका छन् ।

कम्तीमा पनि २५ जना आफ्नो पक्षका नेता केन्द्रीय कमिटीमा सुरक्षित हुनुपर्ने उनीहरुको दाबी छ । जसका लागि ओली तयार भए ठिक, नभए फरक ढंगले सोच्ने चेतावनी दिइरहेका छन् । तर वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीमा ओली समुहभित्र पनि विश्वासपात्र मानिएका सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेलले जोडघटाउ गरिरहेका छन् । जुन पूर्वमाओवादी नेताका लागि थप चुनौतीको विषय हो ।