समाचार

दिक्तेल नगरपालिकाद्धारा गाउँमै कम्पोष्ट मल उद्योग निर्माण, किलोमै ३० रुपैयाँ सस्तो (भिडियोसहित)


काठमाडौँ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउँमै प्राङगारिक मल उत्पादन हुने उद्योग निर्माण गरेको छ । उक्त उद्योगका कारण तराई र काठमाडौँदेखि अनेक हण्डर खाँदै महंगो मल किन्ने दुख बाट यहाँका कृषकले मुक्ति पाएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय कृषकलाई प्राङगारिक मल वितरण गर्ने उद्देश्यले कम्पोष्ट मल प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले संघीय सरकारको अनुदानमा तीन करोड बत्तिस लाख रुपैयाँ लगानीमा यो उद्योग तयार पारेको हो । नगरभरीको फोहोर मैला, मानव दिशापिसाब संकलन गर्ने अनि त्यही फोहोरबाट कम्पोष्ट मल बनाएर कृषकलाई अनुदान दिने नगरपालिकाले लक्ष्य लिएको छ । नगरको सफाई पनि हुने, कृषकलाई कम्पोष्ट मल पनि उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सञ्चालन गरेको यस उद्योगबाट अब एक घण्टामा एक हजार किलो मल उत्पादन हुन्छ । र ३५ रुपैयाँ प्रति केजीमा उक्त मल विक्री हुनेछ । बाहिरबाट आयात गरिएको मलको प्रतिकेजी मुल्य ६५ रुपैयाँ पर्छ । तर थप गुणस्तरसहितको कम्पोष्ट मल नगरसहित यहाँका कृषकले प्रतिकेजी ३० रुपैयाँ सस्तोमा मल प्राप्त गर्नेछन् ।

तर पर्याप्त मात्रामा कज्जा पदार्थ संकलनका लागि भने नगरपालिकालाई चूनौती नै छ । बर्षभरी जिल्लाभरीका मध्य ४ हजार मात्रै कृषकले प्रतिकृषक सय केजी मल खरिद गर्दा पनि ४ लाख किलो मल विक्री हुनेछ । ४ लाख किलो मल विक्री गर्दा नगरपालिकाको बार्षिक आम्दानी यो उद्योगबाटै १ करोड ४० लाख रुपैयाँ हुनेछ ।

डेढ वर्ष त कोरोना चपेटामै परयो । विकासको प्रश्न गर्दा धेरैले यही अप्ठेरोलाई दोष लगाए । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैँ नगरपालिकाले लकडाउनले देश सुतेकै बेला उद्योगलाई जुरुक्क ठड्याएका छन् । अर्गानिक नगरपालिका बनाउने उद्देश्यले नगरपालिका आफैँले तरकारी उत्पादन पनि थालेको छ । र विक्री गरेर त्यसको आम्दानी पनि नगरको ढुकुटीमा जम्मा गर्ने लक्ष्य लिएको रहेछ ।