खेलकुद

ए डिभिजन लिग : उद्घाटन खेलमा सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच गोलरहित बराबरी


काठमाडौँ — नेपालको लिग फुटबल पहिलो पटक फ्लड लाईटमा खेलाउँदा ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्ललले १० खेलाडीमा समेटिएको फ्रेण्ड्स क्लबसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेण्ड्स क्लवले सातदोबाटोलाई बराबरीमा रोक्दै अंक खोसेको हो । ए डिभिजनमा ड्ब्यु खेल खेलिरहेको सातदोबाटोले फ्रेण्डस् क्लवलाई दबाबमा राखेपनि गोल गर्ने सुन्दर मौकाको सदुपयोग गर्न भने सकेन ।

पहिलो हाफको ११ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशिल राईले पोष्टको दिशा दिन सकेनन् । १९ औँ मिनेटमा सातदोबाटोका सिफामन्ड्ला एसेलोलाई खराब ट्याकल गरेपछि फ्रेण्ड्सका अनिल महर्जनले पहेलो कार्ड पाए । घाईते एसेलोले २३ औँ मिनेटमा मैदान छाडे । खेलको १९ औँ मिनेटमा आकाश बुढामगरको फ्रिकीक पोष्ट माथिबाट बाहिरियो ।

खेलको ५७ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको प्रहार किपरले पन्च गर्दै बचाए । ५९औँ मिनेटमा सकल रेग्मीको प्रहार क्रस बारमा लागेर फर्किदा फ्रेण्डसले अग्रता बनाउने सुन्दर मौका गुमाउन पुग्यो । ६६ औँ मिनेटमा फ्रेण्ड्सका जमौला एन्थोनिले डिबक्स बाहिरबाट हानेको प्रहार सातदोबाटोका पिटनर सेगुनलाई रिफ्लेक्ट हँदै गएको बललाई किपरले मुस्कीलले पन्च गर्दै बचाए ।

७५ औँ मिनेटमा सातदोबाटोको प्रशान्त अवस्थीको प्रहार पोष्टको नजिकैबाट बाहिरिए । ७६ औँ मिनेटमा रोनियल एन्थोनी पउलले दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि फ्रेण्डस् १० खेलाडीमा सिमित भयो । उनले ६१ औँ मिनेटमा पहिलो पँहेलो कार्ड पाएका थिए ।

८२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीको प्रहारलाई किपर राहुल रामचन्द्र यादवलले बचाएपनि रिबाउण्डमा आएको बललाई पुनः चौधरीले प्रहार गरे पनि पोष्टको दिशा दिन भने सकेनन् ।

लिगमा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लव तथा दोस्रो खेलमा च्यासल युथ क्लव र रुस्लान थ्रीस्टार क्लव भिड्नेछन् । पहिलो खेल दिउँसो १ बजे तथा दोस्रो खेल पौने ५ बजे दशरथ रगंशालामा हुनेछ । लिगको उपाधि विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।