राजनीति

अमेरिकी मन्त्री लु र गृहमन्त्री खाणबीच भेटवार्ता


काठमाडौँ — तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र गृहमन्त्री बालकृष्णबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । 

गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृह मन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री लू र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो। उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।

भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उथ्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लूलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।