समाचार

बार परिसरभित्र वकिलहरुलाई धम्की दिने दुई जना पक्राउ


काठमाडौँ — नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए । अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

ढकाल काठमाडौँ महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीले बताएको छ । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलेको छैन ।

यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए । उनीहरु मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।