काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला ’क्लिन स्वीप’ गरेको छ । दोहाको वेस्ट इन्ड पार्क स्टेडियममा बिहीवार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई एक सय नौ रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो ।
नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सात गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि सीता राना मगरले नटआउट ८२ रन बनाइन् । अब नेपाली टोली टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछ ।
छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।
प्रतिक्रिया