राजनीति

मन्त्रिपरिषद् बैठकले माघ १२ मा तोक्यो राष्ट्रिय सभा चुनाव


काठमाडाैँ – आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ । मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको हो । फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो । एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोकेको हो । संविधानको धारा ८६ मा राष्ट्रिय सभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने उल्लेख छ ।