काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो ।
जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।
यसैविच, राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । गुरुनानकले समाजमा शान्ति, सद्भालव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि राष्ट्रपतिले लिनुभएको छ ।
प्रतिक्रिया