समाचार

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते


काठमाडौँ — रोल्पामा यात्रु बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ । शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित माडी खोलामा बस खसेको छ ।

घटनास्थलमै तीन जना पुरूष र एक महिला गरी चार जनाको मृत्यु भएको हो । रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले मृतकको सनाखत भइनसकेको बताए । थप ६ जना घाइतेलाई उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्‍याएको डिएसपी सुवेदीले बताए ।

दुर्घटनास्थलभन्दा तीन किलो मिटर अगाडि रहेको प्रहरी चेक पोष्टका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए । त्यो बीचमा अरू कोही यात्रु थपिएको वा झरेको भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

घटनास्थल अँध्यारो भएको हुँदा अरू यात्रु पनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुवेदीले जानकारी दिए । दुर्घटनास्थलमा अझै एक जना महिला र एक जना पुरूषको शव निकाल्न सकिएको छैन । बसले च्यापेको अवस्थामा एक जना महिला र पुरूषको शव रहे पनि तत्काल ती शव निकाल्न सम्भव नरहेको घटनास्थलबाट गाउँपालिकाका वित्तीय अधिकृत ध्रुवराज न्यौपानेले जानकारी दिए ।