समाचार

भाटभटेनीमा सञ्चालनमा आयो नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’ (भिडियोसहित)


काठमाडौँ — काठमाडौँ उपत्यकामा पार्किङको समस्या कहालिलाग्दो छ । सवारी चाप वर्षेनि बढ्दै गएपनि पार्किङको भरपर्दो व्यवस्था छैन् । निजी क्षेत्रबाट प्रयास भएपनि अत्याधुनिक पार्किङ बनाउने काठमाडौँ महानगरपालिकाको योजना पनि कागजमै सीमित बनेको छ ।

काठमाडौँ उपत्यकाको अधिकांश क्षेत्र पार्किङ नहुदा अस्तव्यस्त छ । जताततै सडकमै पार्किङ गर्नुपर्ने अवस्था विद्यमान छ । अव्यवस्थित पार्किङले एकातिर सडक कुरुप बनाएको छ भने अर्कोतर्फ दुर्घटनाको जोखिम पनि बढाएको छ । पार्किङ गर्ने ठाउँ नहुँदा सर्वसाधारणले खेप्नु परेको सास्तीको सीमा नै छैन् । पार्किङको समस्यालाई समाधान गर्ने भन्दै नक्सालस्थित भाटभटेनीमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याइएको छ ।

७ करोडमा निर्माण गरिएको यो पार्किङ ११ तलाको छ । यहाँ एकैपटकमा ४४ वटा गाडी पार्क गर्न मिल्छ । यहाँ गाडीलाई लिफ्टको माध्यमबाट विभिन्न तलाको पार्किङमा लगेर राखिन्छ ।

झन्डै ४ वर्ष अगाडि काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने गरेको अस्तव्यस्त पार्किङ व्यवस्थापन गर्ने लक्ष्यसहित ५ स्थानमा निःशुल्क पाकिङसहित स्मार्ट पाकिङको अवधारणा ल्याएको थियो । तर त्यो अवधारणा सफल हुन सकेको छैन । तर, निजी क्षेत्रले ३ महिना मै अत्याधुनिक पार्किङको व्यवस्था गरिरहँदा महानगर भने योजना र आश्वासनमै सीमित छ ।

सार्वजनिक सवारी व्यवस्थित र भरपर्दो नहुँदा मोटरसाइकल, स्कुटर र कारको प्रयोग वर्षेनी बढ्दो छ । महानगरले घोषणा गरेर पनि काम गर्न नसकिरहेको बेला सर्वसाधारणले स्मार्ट पार्किङको माग गरिरहेका छन् । सवारी संख्या जति बढ्दैछ, पार्किङ गर्ने ठाउँको त्यति नै कमी हुँदैछ । काठमाडौंको पार्किङ समस्या समाधान गर्न स्मार्ट पार्किङ सिस्टममा जान ढिला भइसकेको छ ।