राजनीति

काँग्रेस सभापतिमा चर्काे भिडन्त : अन्य पदमा छैन नेताको चासो, कसको टीमबाट को लड्दैछन् ? (भिडियोसहित)


काठमाडौँ — मंसिर २४ देखि २६ सम्म तय भएको १४ औं महाधिवेशन आउन मात्र तीन साताको बाँकी रहेका बेला नेपाली काँग्रेसमा सभापतिबाहेकका उम्मेद्वार खुलेका छैन । जसले उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्ता महत्वपूर्ण पद बार्गेनिङ टूल्समात्रै बन्ने देखिन्छ ।

नेपाली काँग्रेस सात दशक पुरानो पार्टी हो । र यसका वर्तमान सभापति शेरबहादुर देउवा पनि सात दशक पार गरेका व्यक्ति हुन् । उनी फेरि नेतृत्वमा दोहिरीए भने कार्यकाल सकिँदा ८० पार गर्छन ।तर सभापतिको हुटहुटी मरेको छैन । यस मामिलामा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ठ्याक्कै देउवाकै प्रतिलिपि हुन् ।उनलाई पनि मर्नुअघि एकपटक सभापति बन्नैपर्ने रहर मरेको छैन ।

सभापतिकै लाइनमा देउवा र पौडेलबाहेक उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ सार्वजनिक चर्चामा छन् । यी व्यक्तिहरुलाई सभापति नभई नहुने छ । एकले अर्काेलाई कमजोर देखाएर सभापति पड्काउनआरोप–प्रत्यारोपमै उत्रिने नेताहरुको हुल देखिएका बेला सभापतिबाहेकका अन्य पदमा भने नेताहरु अझै खुलेका छैनन् ।

सभापतिबाहेक महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालेउम्मेद्वारी घोषणा गरेका छन् । तर कुन समुहर कुन सभापतिको लाइनमा उम्मेद्वारी दिएको खुलाएका छैनन् । थापा संस्थापनइतर र शर्मा संस्थापन पक्षकै उम्मेद्वार भएको आँकलन गरिएपनि अन्य नेताहरुले समेत आकंक्षा देखाउन सक्ने भएकाले उनीहरु नखुलेका हुन् ।

बरु समुहबाट एकमत पाएर बलियो हुने उनीहरुको दाउ छ । हालसम्म महामन्त्रीमा जम्मा दुई जनाको पहिचान भएपनि त्यसबाहेकका उपसभापति र सहमहामन्त्री जस्ता पदमा कसैको दाबी र उम्मेद्वारी आएको छैन । किनकि नेताहरुले यी पदलाई बार्गेनिङ टूल्स र नेता व्यवस्थापनका रुपमा हेरेका छन् ।

पुराना नेताको दबदबाले एकातिर पार्टीमा नयाँ अनुहारले स्थान पाएका छैनन् । न पुरानालाई ठेलेर नयाँहरु अघि आउने हिम्मत नै देखाएका छन् । बरु पुराना र बुढ्यौलीहरुकै परछायाँमा बसेर दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारीमध्येका कुनै एक पदमा निर्वाचित हुने पक्का वातावरण खोजिरहेका छन् । यद्यपी महाधिवेशन आउन मात्र तीन साता बाँकी रहदासम्म पनि सभापतिका आकंक्षीले आफ्नो टीमबाट पदाधिकारीमा को-को भिड्ने निश्चित गर्न नसक्दा अन्योलता थप लम्बिने देखिन्छ ।