राजनीति

एमालेमा तीन गुटको रस्साकस्सी : पूर्वमाओवादीलाई ओलीको काखी, रावल र भूसालको चुनौति (भिडियोसहित)


काठमाडौँ — निर्विकल्प अध्यक्ष र सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास सकसपूर्ण बन्दै गएको छ । पार्टीभित्र अस्तित्वमा रहेको तीन समूहलाई व्यवस्थापन मिलाउन नसके ओली आफैँ संकटमा फस्ने देखिन्छन् ।

मंसिर १० देखि १२ सम्म तय भएको नेकपामा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आउन अब मात्र एक साताको समय बाँकी रहेका बेला दुई प्रश्न अह्म बनेर उभिएका छन् । एक, नेकपा एमालेकै असन्तुष्ट पक्षको भूमिका महाधिवेशनमा के होला ? र दुई, पूर्वमाओवादी नेताले एमालेमा कस्तो स्थान पाउँलान् ?यी दुई प्रश्नले उपयुक्त जवाफ खोजिरहँदा संस्थापनका रुपमा रहेको ओली पक्ष भने सुरक्षित देखिन्छ । किनकि अध्यक्ष केपी शर्मा ओलीले जसलाई चाहन्छन्, उसैले आगामी महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म स्थान पाउने स्थिति निर्माण गरिएको छ ।

अध्यक्ष ओली एकताको सन्देश दिने गरि सर्वसम्मतिमार्फत नेतत्वसहित पदाधिकारी चयन र आफु अनुकुल टीम बनाउने पक्षमा छन् ।असन्तुष्ट भीम रावलसहित १० बुँदे सहमतिका पक्षधरहरु सम्मानजनक पद पाए सर्वसम्मति, नत्र चुनावी प्रतिस्पर्धा गर्ने तयारीमाछन् ।रामबहादुर थापासहितका पूर्वमाओवादी नेताहरु भने अध्यक्ष ओलीसंगकै सहकार्यमा धेरैभन्दा धेरै पद प्राप्तीको लाइनमा छन् ।

पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ  । रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा, टोपबहादुर रायमाझीले उपाध्यक्ष, मणि थापा र लेखराज भट्टले सचिवमा मागदाबी गरेका छन् भने प्रभु शाह स्थायी समिति सदस्यको सुनिश्चिता खोजिरहेका छन् ।

जसका लागि ओली तयार नभए फरक ढंगले सोच्ने चेतावनी उनीहरुको छ ।ओली पनि १० बुँदेका पक्षधरभन्दा नेकपा विभाजनदेखि नै साथ दिएर आएका पूर्वमाओवादीलाई प्राथमिकता दिने पक्षमा छन् । तर वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीमा ओली समुहभित्र पनि सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेलले चाहना व्यक्त गरेका कारण पूर्वमाओवादी नेतालाई चुनौती देखिन्छ ।

निर्विकल्प अध्यक्षको तयारीमा रहेका ओलीलाई उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भूसालले चुनौती दिने मनस्थितिमा छन् ।आकांक्षी धेरै हुँदा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रयास जटिल बन्दै गएको छ । असन्तुष्ट र पूर्वमाओवादीमात्र होइन, ओलीलाई आफ्नै समूहभित्रका धेरै आकांक्षीको व्यवस्थापन गर्न सकस परेको छ ।