राजनीति

अमेरिकी मन्त्री लु र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ — तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव डा. भरतराज पौड्यालका अनुसार द्विपक्षीय सम्बन्ध, कोभिडले पारेको असर, पोस्ट कोभिड इकोनोमी रिकभर र कोभिडविरुद्धको भ्याक्सिन सहयोगबारे पनि कुरा भएको बताएका छन् ।

भेटमा कोप(२६ को सम्मेलनमा आफूले राखेका कुराबारे पनि प्रधानमन्त्री देउवाले चर्चा गरेका थिए। नेपालको ग्रीन क्लिन विकास गर्ने उद्धेश्यले गरेको सम्बोधनमा उठाएका कुरा कार्यान्वयनका लागि अमेरिकाबाट आर्थिक र प्राविधिक सहयोग गर्न पनि देउवाले आग्रह गरेका छन् ।

लु ले उक्त भेटका क्रममा नेपाललाई कार्वन उत्सर्जन कम गर्ने कामका लागि सहयोग गर्ने वचन दिएको पौड्यालले बताएका छन् ।