विदेश

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने


काठमाडौँ — पाकिस्तानको संसद्‌ले देशमा बढ्दो बलात्कारका घटना रोक्न कठोर कानुन पारित गरेको छ । यो कानुनअनुसार बलात्कारका दोषीलाई औषधि खुवाएर नपुंसक बनाइनेछ ।

यो कानुनको उद्देश्य बलात्कारका दोषीलाई छिटोभन्दा छिटो सजाय दिने र कडा सजाय दिनु रहेको छ । पाकिस्तानमा महिला र बालिकामाथि बलात्कारका घटना उल्लेख्य रूपमा बढेको देखिएपछि कडा कानुन लागु गर्न सरकारमाथि दबाब बढ्दै गएको थियो ।

इमरान खानको मन्त्रिपरिषद्ले गत वर्ष नोभेम्बरमा बलात्कारीलाई नपुंसक बनाउने अध्यादेशलाई अनुमोदन गरेको थियो । त्यसपछि राष्ट्रपति आरिफ अल्वीले पनि यो अध्यादेशमा हस्ताक्षर गरेका थिए ।

यो ऐन आएपछि देशभर विशेष अदालत स्थापना हुनेछ र त्यसमा महिला तथा बालबालिकामाथि हुने बलात्कारका मुद्दाको छिटो सुनुवाइ गरिनेछ । अदालतले चार महिनाभित्र सुनुवाइ पूरा गरिसक्नुपर्नेछ । पहिलो पटक वा पटकपटक जबरजस्ती करणी गर्नेलाई नपुंसक बनाइनेछ । यसका लागि दोषीको सहमति लिइनेछ ।

घटनाको प्रतिवेदन आएको ६ घण्टाभित्र बलात्कार विरोधी सेलले पीडितलाई छानबिन गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । अभियुक्तले पीडितलाई सोधपुछ गर्न पाउने छैनन् । अभियुक्तका तर्फबाट उपस्थित वकिल र न्यायाधीशले मात्र पीडितलाई प्रश्न गर्न र जवाफ दिन सक्नेछन् ।

अनुसन्धानमा लापरवाही गरेको अवस्थामा त्यस्तो काम गर्ने प्रहरी र सरकारी कर्मचारीलाई तीन वर्षसम्म कैद र जरिवाना वा दुवै पनि हुनसक्छ । पीडितको परिचय खुलाइने छैन र परिचय खुलाउने व्यक्तिलाई कारबाही गरिनेछ । यौन दुर्व्यवहारका अपराधीको डाटाबेस पनि तयार गरिनेछ ।

प्रधानमन्त्री इमरान खानले हालै देशमा बढ्दो बलात्कारका घटनालाई नियन्त्रण गर्न कडा कानुन बनाउने घोषणा गरेका थिए ।