समाचार

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते


काठमाडौँ — उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्रयाक्क्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ । १९ जना व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्रयाक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित १९ जना व्यक्ति घाइते भएका छन् । तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१–त १०८३ नंको ट्रयाक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।