राजनीति

माधव नेपालको पार्टीले एक सिट जित्दैन : योगेश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् ।

‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने । माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अपराध गरेको बताए ।

उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए । मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ । एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।