राजनीति

प्रकाशमानले भने : देउवाले भद्रगोल बनाएको कांग्रेसलाई बलियो बनाउन सभापतिमा उठ्छु


काठमडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई भद्रगोल बनाएकाले आफूले सभापतिको उम्मेदवारी दिने लागेको बताएका छन् ।

बिहीबार बबरमहलमा सम्पादकहरूसँगको छलफलमा नेता सिंहले देउवाले पार्टीलाई बिगारेकाले आफूले उम्मेदवारी दिन लागेको बताएका हुन् । उनले महामन्त्री शशांक कोइरालालाई देउवाको चालमा नफस्न पनि आग्रह गरे ।

‘देउवाले सबै नेतालाई झुलाउँछन् । उनी महाखेलाडी भएको कुरा महामन्त्री शशांक कोइरालाले बुझ्नुपर्‍यो,’ उनले भने । देउवाले पार्टी बिगारेकै कारण १३औँ महाधिवेशनपछि कांग्रेस कमजोर भएको सिंहको दाबी छ ।

सिंहले सभापति देउवाकै कमजोरीकै कारण केपी शर्मा ओलीले दुई/दुई पटक संसद विघटन गरेको आरोप लगाए । उनले प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चिनुमा पनि देउवाको प्रमुख दोष भएको आरोप लगाए ।

‘देउवा नेतृत्वमा आएपछि कांग्रेस निकै कमजोर भयो । त्यही भएर कांग्रेस अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष १६५ सिटमध्ये २३ सिटमा मात्रै विजयी हुन सक्यो,’ उनले भने, ‘कांग्रेस पराजित हुनुमा देउवाकै दोष छ ।’