राजनीति

सहायक विदेश मन्त्री डोनाल्ड लू त्रिवि शिक्षण अस्पतालमा


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ । आज स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गर्नुभएको हो ।

खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनुभयो । सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभयो । मन्त्री लूले नेपाललाई आगामि दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।