राजनीति

शशांक र प्रकाशमानबीच भनाभन, देउवाको एक कलले छिन्नभिन्न बन्यो पौडेल पक्ष (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध एक भएर जाने दाबी गर्दै आएको संस्थापनइतर समुहभित्रको विवाद छताछुल्ल बनेको छ । जसले महाधिवेशनको मुखमै फरक समीकरण बाहिरीएका छन् । पछिल्लोसमय नेपाली काँग्रेसको संस्थापनइतर समुहभित्र चर्किदै गएको अन्तरद्धन्द्धको पटाक्षेप बुधबार भयो ।महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सार्वजनिक रुपमै एकअर्काविरुद्ध खनिए ।महामन्त्री कोइराला बुधबार एक कार्यक्रममा बोल्दै थिए । आगामी महाधिवेशनमा आफुलाई संस्थापनइतर पक्षको बलियो उम्मेद्वार घोषणा गरेका उनले उस्तै दाबेदारी देखाइरहेका सिंहलाई काठमाडौं बाहिरका जनताले नचिन्ने दाबी नै गरिदिए ।

सर्लाहीको एक कार्यक्रममा बोल्दै गर्दा कोइरालाले सिंहलाई सुन्दा नराम्रा लाग्ला तर उहाँ काठमाडौंमै घेरिएर बसेकाले बाहिर कार्यकर्ताले नचिन्ने ठोकुवा नै गरिदिएका हुन् । उनको भनाई अनुसार सिंह सभापति लड्न काविल छैनन् । सभापति लड्न देशभरका नेता कार्यकर्ताले चिन्ने अनुहार हुनुपर्छ ।उनको अभिव्यक्तिलाई लिएर आगो आगो बनेको सिंहले विराटनगरबाट जवाफ फर्काए ।महामन्त्रीले आफ्नोबारे दुष्प्रचार गरेको दाबी गर्दै प्रकाशमानको रेकर्ड हेर्न चुनौती दिए ।

गिरिजाप्रसाद कोइरालाको उपसभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको तथा १२ औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा बढी मत ल्याएर विजयी भन्दै सिंहले कोइरालामाथि प्रश्न गरे, ‘काठमाडौंको भोटले मात्र जितेको हुँ ?’ पहिले काठमाडौं चिन्दैनन् भन्ने गरेकाहरु अहिले काठमाडौं बाहिरकाले चिन्दैनन् भन्न थालेको भन्दै सिंहले चरम आक्रोश व्यक्त गरेका छन् । यसअघि सभापति शेरबहादुर देउवाविरुद्ध उपसभापति विमलेन्द्र निधिसहित तीन संस्थापक नेताका तीन पुत्रले फरक समीकरणको प्रयास गरेका थिए । तर त्यही भित्र कसैले कसैको अस्तित्व स्वीकार्ने अवस्था नबनेपछि सफल हुन सकेनन् ।पछिल्लो समय कोइराला र वरिष्ठ नेता पौडेलको व्यवहारमाथि असन्तुष्ट जनाएका सिंह शुक्रबार भएको संस्थापनइतर पक्षको भेलामा समेत सहभागी भएका थिएनन् । अब भने उनीहरुको अन्तरद्धन्द्ध छताछुल्ल हुँदैछ ।यसले महाधिवेशनमा साझा उम्मेद्वार बनाएर जाने सम्भावनासमेत टरेको देखिन्छ । फलतः इतर समुहको रमिता देखेर संस्थापन पक्ष आफुलाई सुरक्षित ठान्दै गएको छ ।

महामन्त्री कोइराला पौडेल र सिंहलाई पन्छाएर कोइराला परिवारबाटै सभापति बनाएर विरासत फर्काउने दाउमा छन् । यसका लागि सिंह मुख्य चुनौती हुन् ।जसको जोखना गरिरहेका उनी मंगलबार दाजु शेखरको घर पुगेर सल्लाहमा जुटेका थिए । कोइराला परिवारका त्रय शशांक, शेखर र सुजाताबीच छलफल भयो र शेखरलाई सभापति बनाउने पक्का गरियो । जसको घोषणा बुधबार विहान पत्रकार सम्मेलन गरेर गर्ने तय थियो । तर घोषणा गर्नेबेलामैएक कल आएपछि शशांक वालुवाटार छिरे ।

कोइरालाहरु एक भएको सुईको पाएपछि देउवाले शशांकलाई वालुवाटार बोलाएका थिए । जसलगत्तै बदलिएका उनी दाजुलाई दिएको वचन भुलेर सङखुवासभा उडेका छन् । यसअघि रामचन्द्र पौडेललाई उच्चस्तरिय राजनीतिक समितिको संयोजक बनाएर फकाएका देउवाले उपसभापतिमा सुरक्षित गरेर शशांकलाई फकाएको चर्चा छ । तर यसअघि देउवाविरुद्ध एकभएर जान एकमत राख्दै आएको संस्थापनइतर पक्ष भने अन्तरद्धन्द्धकै कारण छिन्नभिन्न बनेको छ ।