राजनीति

काठमाडौँ बाहिर आफुलाई कसैले नचिन्ने आरोपप्रति प्रकाशमानले दिए यस्तो प्रतिक्रिया


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गर्नुभएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा बुधवार गणेशमान सिंह स्मृति फाउण्डेसने आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीमा सभ्यताको बहस हुनेगरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असभ्य भएको उल्लेख गर्नुभयो । प्रकाशमान सिंहलाई काठमाडौँ बाहिर कसैले नचिन्ने भनि दिएको अभिव्यक्ति प्रति जवाफ दिँदै उहाँले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताउनुभयो । उहाँले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गर्नुभयो ।

“संविधान जारी हुँदा उपप्रधान मन्त्री भएको मान्छे हुँ, गिरीजाप्रसाद कोइरालाको उपसभापति, शुशिल कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म,” उहाँले भन्नुभयो,“आफू कुनै पदमा बसेको छैन , अरुलाई पनि त्यही देख्ने , फलानेकोको के छ के छ भन्दै उफ्रने।”

नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतबस् हुन थालेको भन्दै कडा आक्रोश पोख्नुभयो । आफू १२ औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न अनुरोध समेत गर्नुभयो ।