समाचार

विद्युतको नयाँ महशुल दर आजदेखि लागू हुने



काठमाडौँ –आजदेखि नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे बमोजिम विद्युतको नयाँ महशुल दर लागू भएको छ । प्राधिकरणको सिफारिसमा विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो ।

आजदेखि लागू भएको नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयनमा आउनेछ । नयाँ विद्युत महशुल दर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ कायम गरिएको छ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २।८४ प्रतिशतले घटाएको हो ।