समाचार

सरकारले आजदेखि ई–पासपोर्ट जारी गर्दै


काठमाडौँ – सरकारले आजदेखि ई–पासपोर्ट) जारी गर्दैछ । परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्ह ई–पासपोर्ट वितरणको औपचारिक सुरुवात गर्नुहुनेछ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई–पासपोर्ट वितरण गर्ने छ ।

पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक परेकालाई वा स्वेच्छिकरुपमा पनि एमआरपी वितरणलाई निरन्तरता दिइने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले सुरक्षित मानेको ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ ।

ई–पासपोर्टमा मोबाइलको जस्तै विद्युतीय चिपको प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ ।

यसको सेक्युरिटी फिचर पनि बलियो हुने विभागले जनाएको छ । ई–पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुने सम्भावना रोकिने सरकारले विश्वास लिएको छ ।