राजनीति

ऋण लागेर चार महिनादेखि रंगशालाको काम रोकियो, सरकारलाई अपनत्व लिन गुहार


काठमाडौँ – चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम चार महिनादेखि अस्तव्यस्त बनेको छ । आर्थिक अभाव र ऋण बढ्दै गएपछि सरकारलाई अपनत्व लिईदिन धुर्मुस सुन्तली फाउण्डेशनले हारगुहार गरेको छ । सार्वजनिक अपिलकै भरमा सानातिना कामहरु बन्न थालेपछि सामाजिक अभियन्ताहरु यतिसम्म हौसिएका छन् कि अर्बाैको परियोजनामै हात हाल्न पुग्छन् । यस्तै एक परियोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा होमिएका धुर्मुस यतिबेला महासंकटको सामना गरिरहेका छन् ।

मंगलबार विहानै धर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले एक भिडियो सन्देश जारी गर्दै हारगुहार गरे । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माण गरिरहेका धुर्मुसले आर्थिक अभाव र १७ करोडभन्दा बढी ऋणका कारण चार महिनादेखि रंगशाला निर्माणको काम रोक्नु परेको भन्दै सरकारलाई अपनत्व लिईदिन हारगुहार गरेका हुन् । उनले यो चरणसम्मको निर्माण ऋण र दाताहरुको सहयोगमा गरेको र हालसम्म संघीय सरकार, प्रदेश सरकार र सबै स्थानीय तहको ढोका चहार्दा पनि सहयोग नपाएको भन्दै काम रोक्नुपरेको दाबी गरेका छन् ।

कोरोना संक्रमणको महामारीले छोप्दा पनि नरोकिएको काम उधारोको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि रोकिएको धुर्मुसको भनाई छ । पछिल्लो समय धेरै आलोचना खेपेपनि त्यसलाई सुझावका रुपमा लिने बताएका उनले रंगशालामै आएर कामको अवलोकन गर्न आग्रह गरेका छन् । तर परियोजनाबाट हात झिकेको, भागेको वा जिम्मेवारी विर्सिएको नभई सरकारलाई निकासका लागि आह्वान गरेको उनको दाबी छ । सरकारले अपनत्व लिएर काम सम्पन्न भए राष्ट्रकै धरोहर बन्ने भन्दै धुर्मुसले राष्ट्रको प्रतिष्ठा उच्च हुने दाबी गरेका छन् ।

परियोजना निर्माणका क्रममा पाएका आश्वासन र आर्थिक सहयोगका प्रतिवद्धता समेत धुर्मुस पाएका छैनन् । यसैकारण सरकारलाई गुहार्ने अवस्थामा आएको छ । तर सत्तारुढ दलका नेताहरु भने धुर्मुसले क्षमताभन्दा बढीको अर्बाैको महत्वाकांन्क्षी परियोजनामा हात हालेकाले चुनौतीको सामना पनि उनैले गर्नुपरे दाबी गरेका छन् । २०७५ माघ १६ मा राज्यकै सहभागितामा धुर्मुसले रंगशाला निर्माणको थालेका थिए ।

३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ । ३८ करोड बढी रकम सहयोग उठेको छ । अहिले ऋण नै १७ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले काम रोकेका थिए । अलपत्र हुने कि निर्माण सम्पन्न हुने दोधारमै फसेको परियोजना सकिएमा ३ हजार दर्शक क्षमताको रंगशाला त बन्नेछ, तर सरकारले अपनत्व लिने विषयमा हालसम्म सरकार बोलेको छैन ।