राजनीति

राजनीतिक समन्वय समितिको निष्कर्ष : सर्वोच्चमा देखिएको समस्याको यथाशीघ्र निकास हुनुपर्ने


काठमाडौँ – सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठकले केही दिनयता सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ । राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत गरेको छ । समितिले आसन्न राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।