राजनीति

भक्तपुरको १३ सय रोपनीमा लगाइएको धानमा दाना नलागेपछि किसानहरु आक्रोशित


काठमाडौँ – विगतका वर्षमा धेरै फलेको भन्दै चाईनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शुन्य भएको छ । करिव १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि भक्तपुरका किसान मर्कामा परेका छन । भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिव १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना लागेको छैन ।

भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन् । किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको थियो ।स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको छ ।

भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना नलागेको किसान कुलबहादुर न्ह्ेमाफुकीले जानकारी दिए । उनका अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो । सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । नगर भित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केही राहत उपलब्ध गराउने समेत जानकारी दिएको थियो ।