राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि आइतबार राईले प्रदेश सभा नियमावली अनुसार विश्वासको मत लिन चाहेको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ गते नयाँ सरकार बनेको थियो ।

पाँच दलीय गठबन्धन सरकारमा समाजवादी, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री राई रहनुभएको छ । मुख्यमन्त्री राईले सजिलै विश्वासको मत लिने समिकरण छ । पाँच दलीय गठबन्धनले आफ्ना सबै सांसदलाई विश्वासको मत दिने क्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा एमालेको मत संख्या ३९ हुन्छ ।