राजनीति

राजनीतिक दलभित्र शीर्ष नेतृत्वको सिन्डिकेट, नेतृत्वमा नयाँलाई सकस (भिडियोसहित)


काठमाडौँ – पछिल्लो समय मुलुकका शीर्ष राजनीतिक दलहरु पार्टी पुर्नसंरचना र संगठन विस्तार अभियानमा जुटेका छन् । आगामी निर्वाचनमा जसरी पनि आफ्नो पार्टी ठूलो शतिm बनाउने रणनीतिका साथ नेता कार्यकर्ता महाधिवेशनमा होमिएका छन । तर राजनीतिक दलहरुमा नीति भन्दा पनि नेता हावी हुँदा पार्टी पुर्नसंरचना औपचारिकता मात्र सिमित हुने देखिएको छ ।

लोकतान्त्रिक पद्धति अनुसार चुनावमार्फत जनमत लिने र सरकार चलाउने प्रक्रियामा राजनीतिक दलहरु नै हुने हुँदा राजनीतिक दलहरु लोकतन्त्रका मेरुदण्ड मानिन्छन । नेपालका राजनीतिक दलहरु भने दलको नीति र सिद्धान्तभित्र रहेर जनताका जनजीविकाको सवाललाई उठान गर्दै सिद्धान्तबाट निर्देशित हुनुको सट्टा शक्ति र सत्तामुखी मात्र छन । राजनीतिक दलहरुमा नीति र सिद्धान्त भन्दा नेतृत्व हावी छ । पार्टीहरु नेता केन्द्रित बनेका छन् । मुलुकको सबै भन्दा पुरानो लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस लामो समयदेखि नेताहरुबीचको मतभेद र गुटगत किचलोका कारण संकटमा छ ।

लामो रस्साकस्सी पछि हुन लागेको पार्टीको १४ औं महाधिवेशनमा आधा दर्जन भन्दा बढी नेता पार्टी सभापतिको आकाक्षी छन् । तर सभापतिका दावेदारहरु सबै नीति , सिद्धान्त र योजना विहिन छन् । कांग्रेसले औपचारिक रुपमै आगामी महाधिवेसनमा नेतृत्वको मात्र चयन गर्ने निर्णय नै गरेको छ ।
पछिल्लो समय मुलुकका राजनीतिक दलहरु नीति भन्दा पनि नेतामैत्री हुँदा पार्टीको अस्थित्व नै धरापमा छ । नेताहरु नागरिक भन्दा पनि आफ्नो राजनीतिक स्वार्थमा अडिएका छन् । पार्टी नेतृत्वका लागि नीति नियम सिद्धान्त भन्दा पनि कुर्शी प्यारो भएको कतिपयको विश्लेषण छ ।

नेकपा माओवादी केन्द्रको नेतृत्व विगत ३० वर्षदेखि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्दै आएका छन् । पार्टीको आगामी महाधिवेशनमा पनि प्रचण्ड नै पुन नेतृत्वमा आउने निश्चित छ । माओवादीमा प्रचण्डलाई टक्कर दिने नेताको उदय नै भएको छैन भन्दा फरक पर्दैन । नेकपा एमालेभित्र पनि अध्यक्ष के।पी शर्मा ओलीकै वर्चस्व छ । ओलीलाई टक्कर दिने नेता पार्टीभित्र छैन । ठूला राजनीतिक दलमा मात्र होइन नेकपा मालेमा सीपी मैनाली , राप्रपामा कमल थामा, पशुपति शमसेर राणा पनि पार्टी नेतृत्व तहबाट बाहिरिएका छैनन् । समग्रमा साना ठूला दलका शीर्ष नेता नेतृत्वमा रहि रहन चाहान्छ । पार्टीका सबै नेतृत्वमा पार्टीको नीति र सिद्धान्त भन्दा पनि नेता नै हावी भएको प्रष्ट छ ।

पार्टीका शीर्ष नेतृत्व पार्टीभित्र आफ्नै वर्चस्व कायम राख्न चान्हन्छ । त्यसका लागि नेताहरु जस्तो सुकै मुल्य चुकाउन तयार छन । नेताहरु पार्टीको सिद्धान्त र नीतिलाई प्रभावकारी बनाउने भन्दा नेतृत्वमा आफै रहन धेरै मेहनत गरिरहेका देखिन्छन् । यस्ले दलहरु दिन प्रतिदिन भुत्ते हुँदै भएको आभास हुन्छ ।