राजनीति

महाधिवेशन सम्पन्न गर्न दलहरुको दौडधुप, नीति भन्दा नेतृत्व हाबी हुँदा आन्तरिक लोकतन्त्र धरापमा (भिडियोसहित)


काठमाडौँ – स्थानीय निर्वाचन नजिकिएसँगै त्यसअघि महाधिवेशन सम्पन्न गर्न राजनीतिक दलहरु कम्मर कसेर लागि परेका छन् । काँग्रेसले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशन लक्षित विभिन्न समिति गठन गरेसँगै तोकिएकै मितिमा महाधिवेशन हुने निश्चित भएको छ । यता नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपाल पनि स्थानीय निर्वाचन अघि नै महाधिवेशन र अधिवेशन सम्पन्न गर्न लागिपरेका छन् ।

संविधानतः आगामी चैत ५ गतेभित्र स्थानीय निर्वाचन भैसक्नुपर्ने अवस्था छ । सत्तारूढ दलले चाहेमा अध्यादेश ल्याएर भए पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर ६ महिनासम्म स्थानिय निर्वाचन पर सार्न सक्छ । त्यसलगत्तै प्रदेश र संघको निर्वाचन मिति आइसकेको हुनेछ । यसहिसावले हेर्दा पनि आगामी वर्ष निर्वाचनको वर्ष हुने निश्चित छ । त्यसैले पनि राजनीतिक दलहरु निर्वाचनको माहोल सुरु हुनु अगाडि नै महाधिवेशन सम्पन्न गरेर नयाँ नीति र नेतृत्वको साथ निर्वाचनमा होमिने तयारीमा छन् । स्थानिय निर्वाचनको महोल सुरु हुन धेरै समय नरहेको बुझेरै पटक पटक महाधिवेशन मिति सार्दै आएको नेपाली काँग्रेसले अव भने तोकिएकै मितिमा महाधिवेशन गर्न लागिपरेको छ । आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीको महाधिवेशन हुनेमा नेताहरु विश्वस्त देखिएका छन् ।

यता मंसिरको दोस्रो सातामै सहमतिमै नेतृत्व चयन गर्ने तयारीमा रहेको नेकपा एमालेले करिब ९० प्रतिशत प्रतिनिधिको छनोट गरिसकेको छ । राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको र बाँकी जिल्लामा पनि सहमतिमै प्रतिनिधि छान्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिइसकेका छन् । साथै एमालेका अन्य नेताहरु पनि पार्टीमा नीतिगत विषयलाई लिएर कुनै विवाद नभएकोले महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गरिने बताउँछन् ।

यस्तै नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । पुस ११ गतेदेखि काठमाडौंमा राष्ट्रिय अभिवेशन गर्ने उस्को तयारी छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनको तयारीमा जुटिरहेको छ । अधिकांश जिल्ला अधिवेशन सम्पन्न गरिसकेको राप्रपा पनि नयाँ नीति र नेतृत्वका साथ निर्वाचनमा जाने तयारीमा छ । आगामी वर्ष निर्वाचनको वर्ष हुने निश्चित भएकोले नै दलहरु त्यसअगाबै महाधिवेशन सम्पन्न गरेर सम्पूर्ण ध्यान निर्वाचनमा लगाउने योजनामा रहेको बुझ्न सकिन्छ ।