राजनीति

सभापति बनाईदिन भन्दै सुटुक्क सुटुक्क दिल्लीतिर, भारतको आशिर्वाद नलिई राजनीतिक नचल्ने हो ? (भिडियोसहित)


काठमाडौँ – पार्टीको महाधिवेशन आउन मात्र एक महिना बाँकी रहेका बेला नेपाली काँग्रेसका नेताहरु पालैपालो दिल्ली धाइरहेका छन् । जसलाई नेपालका पार्टीको आन्तरिक राजनीतिमा भारतको महत्वका रुपमा हेरिएको छ ।

काठमाडौंमा महाधिवेशन लक्षित गतिविधि र नेतृत्वका लागि रस्साकस्सी चलेका बेला नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा पूर्व महामन्त्री प्रकाशमान सिंह शनिबार सुटुक्क भारत छिरे । सीमा नजिकै कार्यकर्ता भेटघाटमा व्यस्त रहेको भान पारिरहेका सिंह कसैले छनक नै नपाउने गरि नेपालगञ्ज नाकाबाट लखनउ हुँदै दिल्लीतर्फ मोडिएका हुन् । महाधिवेशन आउन मात्र एक महिना बाँकी रहेका बेला संस्थापनइतर पक्षभित्रको बढ्दो तनावकै बीच एकल उम्मेद्वार बनाएर जाने सहमति टुङगीएको छैन । ठिक यसैबेला सिंह भाजपा अध्यक्षसहितको भेटघाटका लागि दिल्ली दौडमा केन्द्रीत बनेपछि नेपालका आन्तरिक पार्टीमा भारतीय महत्व उजागर मात्रै भएको छैन, नेताहरुको दिल्ली मोहसमेत झल्किएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समुहका चार दाबेदारबीचको चर्किदो विवादकै कारण साझा उम्मेद्वार तय भएको छैन । देउवा–पौडेल कसैबाट पार्टी नचल्ने दाबी गरिरहेका सिंह समुहभित्रै असन्तुष्टि जनाएर फरक समीकरणको कसरतमा छन् । यसैकारण शुक्रबार पौडेल पक्षको भेलामा सहभागि नभएका उनी बरु दिल्ली दौडमा अघि बढेका हुन् । उस्तै दिल्ली दौड यसअघि अर्का सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालाले कात्तिक १० मा गरेका थिए ।

मुम्बई हुँदै दिल्ली हानिएका उनले भाजपाका विदेश विभाग प्रमुख लगायतलाई भेटेका थिए । कोइराला र सिंहमात्रै दिल्ली दौडमा छैनन्, काँग्रेसकै उपसभापति विमलेन्द्र निधिले समेत दिल्ली दौडपछि मोदी शैली नै अपनाएर तामझामपूर्ण तरिकाले सम्पर्क कार्यालय स्थापना गर्दै उम्मेद्वारी घोषणा गरेका थिए । भारतलाई रिझाउनकै लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र सहमहामन्त्री प्रकाशशरण महतको तीन सदस्यीय टोलीलाई असोज २२ मा भारत पठाएका थिए । सम्बन्ध सुधारको नाम दिएको उक्त भ्रमणमा नेपाली टोलीले राजनीतिक भेटघाट गरेको थियो । देउवाकै तर्फबाट उस्तै भेटघाट उनी निकट सुनिल थापाले समेत गरिरहेका छन् ।

दिल्लीको आशिर्वाद नपाए नेपालमा राजनीतिक करियर सफल हुँदैन भन्ने परम्परा दलहरुमा बसेको छ । जसको पछिल्लो उदाहरण महाधिवेशन नजिकिएका बेला नेपाली काँग्रेसका नेताहरुको दिल्ली दौडलाई लिन सकिन्छ ।