देश

दुई देशको सम्बन्ध सुधार्ने इपीजीप्रति मोदीको अनिच्छा, प्रभावहिन बन्यो इपीजी प्रतिवेदन (भिडियोसहित)


काठमाडौँ – नेपालमा निकै चासोपूर्वक हेरिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन विगत ३ वर्षदेखि अलपत्र अवस्थामा छ । भारतले वेवास्ता गर्दा इपीजी प्रतिवेदन प्रभावहिन बनेको हो । यो विषयले नेपालको कुटनीतिक असक्षमता मात्र झल्किएको छैन नेपाल–भारत सम्बन्धमा पनि असर पुर्याएको छ ।

नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउन विज्ञ समूहबाट सुझाव प्रतिवेदन तयार पार्ने उदेश्य सहित दुवै देशका प्रधानमन्त्रीको पहलमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भयो । दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सीमानामा उत्पन्न समस्या तथा त्यसको समाधान, व्यापार तथा पारवहन सन्धि, जलस्रोत तथा वातावरण लगायतका विषयमा सुझाव प्रतिवेदन तयार गर्न २०७२ मा गठित इपिजि समूहले समयसीमा भित्रै २०७५ मा इपिजी प्रतिवेदन तयार पार्यो । तर तयार प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाए । जसका कारण दुई देशबीचका जटिल समस्या र सुझावहरु समेटिएको प्रतिवेदन विगत ३ वर्षदेखि दराजमा थन्किएको छ ।

प्रतिवेदन तयार पार्न नेपालका तर्फबाट डाक्टर भेषबहादुर थापा र भारतको तर्फबाट भगतसिंह कोरियारी संयोजक रहेका थिए । ६ सदस्यीय विज्ञ समूहले तयार पारेको प्रतिवेदनमा उल्लेख समस्याहरु हल नभएसम्म नेपाल–भारत सम्बन्ध नसुधिने इपिजी समूहका नेपाल संयोजक डाक्टर भेषबहादुर थापाको दाबी छ । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा गरेको प्रतिवेदन प्रभावहिन बन्नुमा मोदीको अनिच्छासंगै नेपाल र नेपाली नेतृत्वको भारतप्रतिको लम्पसारवाद प्रवृत्तिको उपज भएको कतिपयको तर्क छ । तयार प्रतिवेदन भारतलाई नै पहिले बुझाउनु पर्ने प्रावधान नै गलत भएको कतिपयको विश्लेषण छ ।

कसैले चाहँदैमा छिमेकी देश फेर्न सकिँदैन । जतिसुकै जटिल र असन्तोषयुक्त अथवा तनावग्रस्त सम्बन्ध भए पनि समयानुकूल सुधार गर्नुको विकल्प छैन ।नेपाल भारतबीचको खुला सीमा, प्रवेशाज्ञाविना नै एक–अर्काे मुलुकमा आवागमन गर्न पाउने अवस्थाले झनै सम्बन्ध सुधारको आवश्यकता देखिन्छ । तर छिमेक पहिला विदेश नीति लिएका भारतीय प्रधानमन्त्री मोदीको प्राथमिकतामा नेपाल जस्तो छिमेकी मुलुकनै नपर्दा दुई देशबीचको बहुआयामिक सम्बन्ध चरणवद्धरुपमा शिथिल उतारचढावपूर्ण स्थितिमा छ ।

असल छिमेकीको भूमिका निभाउनुको सट्टा पछिल्लो समय एसएसबीले नेपालीमाथि ज्यादतीपूर्ण व्यवहार गर्दै आएको छ । जसले पनि मोदीको छिमेक पहिला नीतिको धज्जी उडाईरहेको छ । नयाँ प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गरे पश्चात थप दरारपूर्ण बनेको नेपाल– भारत सम्बन्ध संवादहिन जस्तै छ । नेपाल पहिला विदेश नीति लिएको देउवा सरकारले छिमेकसँग सम्बन्ध सुधार गर्न ट्रयाक टु डिप्लोमेसी अपनाएको दावी गरे पनि नतिजा भने शुन्य छ ।मुलुकको राजनीतिअस्थिर बन्दा छिमेकी मुलुकसँग मात्र नभई अन्तराष्ट्रिय स्तरमा नै मुलुकको कुटनीति प्रभावहिन बन्दै गएको छ ।