राजनीति

सुरक्षाकर्मीको घेरा तोडेर कानून व्यवसायी सर्वोच्च परिसरमा


काठमाडौँ – दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वाेच्च अदालत भित्र प्रवेश गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अदालत परिसरमा जान रोक लगाए पनि जबरजस्ती घेरा तोडेर अदालत परिसरमा पुगेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले त्यहाँ पुगेका हुन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर, त्यस बेला भने उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन ।

शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।

सर्वोच्चमा अहिले कडा सुरक्षा दिइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।