समाचार

कोरोनाविरुद्धको फाइजर खोप आजदेखि दिइँदै


काठमाडौँ – सरकारले कोरोना विरुद्धको फाइजर खोप लगाउने अभियान आजदेखि शुरु गर्दैछ । १२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ । खोप लगाउन देशभर २४ वटा केन्द्र तोकिएका छन् । तोकिएका केन्द्रहरुमा खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाउन सकिने मन्त्रालयले जनाएको छ । १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी, लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामीलाई खोप दिइने छ ।

जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका, कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामीले पनि खोप पाउने छन् ।